Wednesday, October 7, 2015

सुदुर स्मृतिहरु

१.
आत्मकथाको सुरुवात कहाँनेरबाट गर्न पर्छ ?
 
जन्म मितिबाट ? जन्म स्थानबाट ? न्वरानको नामबाट ?  चिना, टिपन वा ज्योतिष पुरोहितका भविष्यवाणीबाट ? थाहा छैन मलाई, यी मध्ये कुन राम्रो तरिका हो । यी सबै प्रचलनभन्दा फरक म मेरो आत्मकथा सुदुर स्मृतिबाट सुरुवात गर्न चाहन्छु ।

सुदुर शब्दको अर्थ पर, टाढा, निक्कै टाढा वा दुर्गम हुँदो हो । यी सबै अर्थ यहाँ त्यतिधेरै परिलक्षित छैनन् । मैले सुदुर स्मृतिहरु भनेर ती परिदृष्यलाई स्मरण गर्न खोजेको हुँ जसलाई म मेरो जीवनका प्रारम्भीक स्मृतिका रुपमा उल्लेख गर्न सक्छु । यी परिदृष्यभन्दा पर, अहँ ! मसँग कुनै सम्झना छैनन् ।
 
परिदृष्य १ः
पहाडको काखमा एक्लो घर छ । उत्तर पूर्व हरिया डाँडा र जंगल, दक्षिण भिरालो भएर बगेजस्तो जमिन, पश्चिमतिरको स्मृति झनै अमूर्त र धमिलो छ । चौविसै घण्टा वादल, भुइँकुइरो, तुवाँलो लाग्नेजस्तो ठाउँमा फिट्टा एक्लो घर । सम्भवत उत्तर दक्षिण तन्किएको र पूर्वतिर फर्किएको । घरको भूइँतलाको उत्तरी कुनामा बाख्राको खोर । दक्षिण कुनामा भान्छा घर । रुख सिङगै गाडेजस्ता काठका खावाहरु । ढुड्गाको गारो । रातो माटोले लिपेको दलान ।
 
मौसम चिसो छ । अझै चिसिदै जान्छ । हावाहुरी चलेजस्तो लाग्छ केही वेर । फेरि रोकिएजस्तो लाग्छ । शान्त, स्तब्ध कालो रात बाक्लिएजस्तो लाग्छ । झ्याउँकिरी कराएजस्तो वा कुनै रुखको टोड्काबाट कुनै अज्ञात चराको एकोहोरो आवाज आइरहेकोजस्तो लाग्छ ।
 
बिहान व्यूँझदा बाख्राको खोरनेर हिउँको पहाड जमेको छ । मेरी बास्सै ! हेर्दाहेर्दै हिउँ घरको दलानतिर बग्न थाल्छ । कत्रो ठूलो सेतो थुप्रो । घर परिवारका हामी सबै सदस्य आत्तिन थाल्छौँ । हिउँ पन्छाउन थाल्छौं । बाल्टिनले, आरीले, थालले, डबकाले हिउँ ओसार्दै आँगनको डिल मुन्तिर फ्याँक्न थाल्छौँ । फ्याँक्छौ–फ्याँकिरहन्छौ । तर हिउँ निरन्तर थपिदै जान्छ । हामी शिथिल र हैरान हुन्छौ । हजुरबुबा गाउँमा जवान खेताला खोज्न निस्कनु हुन्छ । हिउँको सेतो पहाड पन्छाउन । अलि बढी सन्तुष्ट भावमा सुस्ताउदै हामी हजुरबुबाले खोजेर ल्याउने खेतालाहरु पर्खिन थाल्छौँ ।
 
परिदृश्य २ः
बारी भिरालो छ । तर भर्खरै जोतिएको छ । सुकेका मकैका ढोड जोतिएको रातो माटोका डल्लाले थिचिएका छन् । आमा बारीमा सुकेको ढोड बटुल्दै हुनुहुन्छ । भाई घरको दलानको कोक्रोमा सुतेको छ । म कोक्रोको विट समातेर हल्लाउँदै छु, उसलाई । तर ऊ फकिदैन । अहँ, पटक्कै फकिदैन । झनझन रुन थाल्छ । बडो निरास हुन्छु म  ।  आमालाई हारगुहार गर्न लाग्छु “ आमा भाइ रोयो है ।”  यथार्थमा भाइ मात्र हैन, भाइ नफकिएको र आफ्नो प्रयास असफल भएको निरासामा म आपैm पनि रोइरहेको हुन्छु ।
 
परिदृश्य ३.
मेलको ठूलो रुख छ । अग्लो, मोटो, हाँगैहाँगा भएको । वरपिपलको बोटझंै छहारीदार भएर फैलिएका छन त्यसका हाँगाहरु । मेल झार्न सकिदैन । तर हावाले झार्ला कि भनेर रुङ्गेर बसिरहन्छौँ, रुखमुनि हामी भुराभुरीहरु । मेलको रुख छेउमा सेउलाको गोठ छ । मेल झर्ला भन्ने आशाले रुखको मुन्तिर घरिघरि हेरिरहन्छौ र गोठमा खेल्न थाल्छौ । गोठको सेउलामा उपिँयैउपिँया छन् । जिउँभरि उपियाँ सल्किन्छ । जिउँमा उपियाँ सल्केपछि बढो सकसक हुँदोरहेछ । म छि–छिटो उपियाँ सल्केको दौरा खोल्ने प्रयत्न गर्छु ।
 
हतारमा दौराका सबै तुना चुडिन्छन । दौरा ल्याङ्गफ्याँग हुन्छ, च्याँतिन्छ । बिहानभरि हजुरआमाले घण्टौं लगाएर तुनेको दौरा, साँझ घर पुग्दानपुग्दै सबै लथालिङ्ग भइसक्छ । म लाज, डर र हिनताभाषले साँगुरिन्छु । हजुरआमा मेरो दौरा तुन्दातुन्दा हैरान भइसक्नु भा’छ । तर उहाँ न गाली गर्नु हुन्छ न मैले सोचेझंै हातमा लाठो लिएर मलाई पिट्न नै खोज्नु हुन्छ । बरु उल्टै मलाइ काखमा बसाएर भन्नु हुन्छ– नानी ! के भयो तेरो दौरा ? कस्ले च्याँतिदियो हँ !
 
परिदृश्य ४ः
पहाडको ढाडैढाड केहीवेर हिडेपश्चात् थोरै उकालो चड्न पर्छ । अनि जंगल शुरु हुन्छ । जंगलको बीचमा एउटा चौर छ । चौरमा केही खाल्डा छन । कालो धमिलो दंगदंगी गन्हाउने पानी भएका आहाल । भंैसी आहालमा पसेपछि हजुरबुबा एउटा रुखकोे फेदमा बस्नुहुन्छ । केही बेर मै ढुसुढुसु उङ्गेजस्तो देखिन थाल्नु हुन्छ । म आहालको नजिकमा जान्छु । आहालमा भैंसी ओल्टेकोल्टे गरेको, मडारिएको दृश्य रमाइलो मानेर हेर्न थाल्छु । हेर्दाहेर्दै भैंसीले उछिट्टयाएको हिलोले भैंसीभन्दा धेरै भिज्छु । आफै दङ्गदंगी गन्हाउन थाल्छु । हजुरबुबा मलाई देखेर दिक्क मानेजस्तो गर्नु हुन्छ । गाली गर्दै मलाइ दपेट्न थाल्नु हुन्छ । म घोसेमुन्टो लगाएर हजुरबालाई पछ्याईरहन्छु । 
 
परिदृश्य ५ः
घरको बाख्राखोरमा एउटा ठूलो बाख्रो  छ । कति ठूलो र अग्लो भने हामी उभिउभि उसको थुनमा मुख लगाउछौँ । बाख्रोको पाठोले झैं तनतनी दुध पिईदिन्छौ । । कालो जिउमा सेता धर्का भएको झन्डै गाइको कोरली जत्रो बाख्रो । फाँचो कति ठूलो भने हामीले थुनमा मुख जोडेर घटघटी दुध पिएपछि पनि त्यसका तीन वटा पाठापाठी मज्जाले अघाउँथे  । बाख्रोलाई सधैं जसो साइली दिदीले खोरबाट निकालेर बाहिर टाट्नामा ल्याएको देख्थे म । एक बिहान खै किन हो कुन्नी बाख्रो मैले खोरबाट निकाल्ने प्रयत्न गरे । तर बाख्रो बेस्सरी दगु¥यो । म लडे र ढुङ्गामा घिसारिए । दिदीले उठाउँदा मेरो पूरै शरीर दरफरिएको थियो । शरिरका विभिन्न भागबाट रगत बगिरहको थियो ।
 
परिदृश्य ६:
घरको छेउमा सम्भवत दक्षिण पूर्वी मोहडामा फलफूलका वोटहरु छन । कागती, निबुवा, आलुचा, आरुवखडाका बोटहरु । दाडिमका हरिया झ्याँङ्ग र राता पिपला पात । वारीको बीचमा कोल छ । चाकाचुलीको खेलझंै कोलको काठ वरिपरि फन्फनी घुम्दो छ । कोलको बीचमा माथिल्लो भागमा चेप्टा ठूला ढुङ्गाहरु घरि थपिन्थे, घरि झिकिन्थे । सम्पूर्ण गाउँ हाम्रै घर वरपरजम्मा भएजस्तो भीड देखिन्थ्यो । भान्छाकोठामा हजुरआमा सेल पकाउनु हुन्छ । आमा र दिदीहरु ठेकी, चौठी र हर्पेमा अमिलो र तेल थन्काउनु हुन्छ । हामी भुराभुरी भुइँमा न भाँडोमा भएर आँगन भरि नाचिरहेका छांै ।
 
यी सम्झना भोजपुर जिल्लाको कटुन्जे गाउँका हुन । पाको उमेरका मानिस भोजपुरलाई पूर्वी चार नम्बर वा माझ किरात भन्थे । सानोमा यस्ता शब्दबाट आफ्नो पैत्रिक थलोको सम्बोधन भएको सुन्दा म रनभूल्ल पर्थे । के भनेको होला यो ? यस्ता शब्दको अर्थ निक्कै ठूलो भएर मात्र बुझ्न सके ।
 
मैले जानेसुनेअनुसार कटुन्जे गाउँ सुनसरी जिल्लाको चतरा बजारबाट तीन दिन पैदल दुरीमा पर्छ ।  भोजपुर जिल्ला सदरमुकामबाट एक बिहानको पैदल दुरीमा । कटुन्जे गाउँमा एक्लो घर, हिउँको थुप्रो, मेलको ठूलो रुख, जंगलको बीचमा दंगदगी गन्हाउने आहाल, सेउलाको गोठ, रातो माटोको ढेप्पा उठ्ने पाखो बारी र बारीको बीचमा कोल घुमाएका दृष्य ।  यी सबै धमिला सम्झना त्यहाँको यथार्थसँग कतिको मेल खाँदा हुन– अझ पनि म यकिन भन्न सक्दिन । करिब चार वर्षको उमेरमा छोडेर हिडेको कटुन्जे गाउँ म आज पर्यन्त फर्किएर गएको छैन ।
 

No comments:

Post a Comment