Tuesday, March 13, 2018

लेखकहरु पाठकलाई ठग्न थालेका हुन ?


डम्बर खतिवडा
म १२ वर्ष  शिक्षण पेशामा रहे । १२ वर्ष  लामै समय, एउटा युग नै हो । तर ती दिन विस्मृत हुन सक्थे, यदि मेरा विद्यार्थीहरुले वेलावेला नसंझाई दिने हो भने । हाईस्कुल पढ्दाका नेपाली शिक्षक गोपाल दाहाल भन्नु हुन्थ्यो–‘शिक्षक भनेको माझी जस्तै हो । तरेर नदीको पल्लो किनार पुग्नेहरु कहाँकहाँ पुग्छन, माझी सधै नदीका दुई किनार बीचमा रहन्छ । शिक्षक पनि त्यस्तै हो । पढाएर कक्षा उचालेका विद्यार्थी कहाँकहाँ पुग्छन । शिक्षक सधै त्यही स्कुलमै रहन्छ ।’

फाल्गुन ७ गते मेरो पुस्तक ‘समाजवादको यात्राः युटोपियादेखि चौथो आयामसम्म’ बजारमा गएको केही दिनपछि मैले एउटा फोन प्राप्त गरे–‘सर, के लेखकहरुले पनि पाठकलाई ठग्न थालेका हुन ?’ यो प्रश्नले कहीवेर स्तब्ध भए । कसलाई के भन्न खोजेको हो बुझिन ।  मलाई नै लेखक ठानेर मेरै पुस्तकका सन्दर्भमा भनिएको हो कि अरु कुनै सन्दर्भमा ? अलमल परेपछि मैले उनको नाम सोधे ।

उनी कुनै समयका मेरा विद्यार्थी थिए । फिदिममा  जागिर खाँदै गरेका । आफूलाई पढाउँने सरको किताब निस्कियो भनेपछि उनले फिदिम बजारमा किताब खोजेछन । नभेटेपछि काठमाण्डौंबाट पठाइ दिन फोन गरेका रहेछन । काठमाण्डौंबाट एकप्रति किताब फिदिम पठाउँने झंझट गर्ने जाँगर मसंग थिएन । यो मेरो काम हैन । प्रकाशक तथा वितरकको काम हो । मैले उनलाई त्यही भने ।

त्यसपछि उनले त्यो आश्चर्यजनक प्रश्न मेरा सामु तेर्साए–‘सर,व्यापारीले ग्राहकलाई ठगेको त देखेकै हो । राजनीति गर्ने र चुनाव उठ्नेहरुले जनता र मतदातालाई ठगेको पनि देखेकै हो । अब के लेखकहरुले पनि पाठकलाई ठग्न थालेका हुन?’

वास्तवमै यो मेरा लागि बोझिलो प्रश्न थियो । सोधे– किन ? के भयो र त्यस्तो ?

उनले भने–‘पत्रपत्रिकाको विचारपृष्ठ हेर्यो खासै केही नयाँ हुँदैन । केही सीमित लेखक र उनीहरुकै उताउता मिलाएका उनै पुराना विचार दोहोरिएको मात्र हुन्छ । बजारमा नयाँ किताबको चर्चा र हल्ला हुन्छ, पढी सक्दा हल्ला भएजस्तो खासै नयाँ कुरा हुँदैन । खासै मज्जा पनि आउँदैन । लेखकहरुले यसरी पाठकलाई ठग्न मिल्छ ? लेखकहरुले समेत ठग्न थाल्ने हो भने यो देशमा अब ठग्न बाँकी को रहन्छ ?’

पाठकले यसरी पनि सोच्छन, कहिल्यै लागेको थिइन । लेखक कसैकोे जागिरे हैन । कसैको कारिन्दा, दास, नोकर पनि हैन । उसले जस्तो सक्यो, त्यस्तो लेख्यो । उसले राम्र्रै लेख्नु पर्छ, लेख पढेर सबैलाई मज्जा आउनु पर्छ, सबै पाठकलाई मन पर्नु पर्छ भन्ने के छ र ? हरेक लेखकले आफ्नो बुताले भ्याएसम्म मेहनत त गरेकै हुन्छ । पाठकले मन पराउँनै पर्छ भन्ने छैन । यसमा ठग्ने÷नठग्ने, ठगिने÷नगठिने कुरै के छ र ?

तर मनमा खेलेका यी कुरा मुखले भने भन्न सकिन । भने– ‘यस्तै हो । सबैका आआफ्ना सीमा हुन्छन । नेपालको लेखन–बजार सानो छ । राम्रो लेख्न अध्ययन र भ्रमणको आवश्यकता हुन्छ । त्यसका लागि समय र पैसा चाहिन्छ ।  लेखेर बाँच्न गाह्रो छ । परिवार पाल्न पैसा कमाउनै पर्छ । कुुनै न कुनै अरु काम गर्नै पर्छ । को पेशागत लेखक छ र यहाँ ? फुर्सदमा लेखिने होे ।’

लागेको थियो–मैले राम्रै उत्तर दिए । तर उनले त झन न्याँकन्याँक्ती पारे । भने– ‘लेखकहरुले त्यसो भन्न कहाँ पाइन्छ सर । कार्ल माक्र्सलाई पुँजीका त्यति मोटा भोल्युम लेख्न कस्ले पैसा दिएको थियो ? न्यूटन र आइस्टाइनले कसैले पैसा दिएर फिजिक्स लेखेका हुन?’ वाफ रे, नेपाली पाठकहरु लेखकबाट यस्तो अपेक्षा राख्छन, त्यो मेरो कल्पनाभन्दा धेरै बाहिरको कुरा थियो ।

फाल्गुन २५ गते साँझ पोखरामा एउटा सानो छलफल कार्यक्रम थियो, त्यही मेरो किताबमाथि । साँझतिरको समय, त्यसमाथि झरी पर्यो । एक घण्टाको कार्यक्रममा विजुली ५ पटक जति आइजाई गर्यो । तथापि कार्यक्रम ठीकै भयो । भोलिपल्ट बिहान कार्यक्रममा आइनपुग्नु भएका मित्र राजु क्षेत्रीको प्रश्न थियो– ‘के छ त्यस्तो तपाइँको किताबमा ? किन पैसा तिरेर किन्नु पर्ने ? किन समय खर्चेर पढनु पर्ने ?’

यस्तो ठाठाडो प्रश्नले फेरि म अक्क न बक्क भए । भने–‘ त्यस्तो धेरै केही छैन । तपाईले किन्नै पर्छ भन्ने पनि छैन, पढ्नै पर्छ भन्ने पनि छैन । एउटै किताब पढेर त्यस्तो धेरै के उद्युम हुन्छ र ?’

उनी हाँसे । भने– ‘मैले तपाईलाई खेरेको हैन । यो प्रश्न उठाएको कि रहरले लेखक हुने हैन । लेखक हुने इच्छा गर्नेहरुले पाठकलाई केही नयाँ दिन पनि सक्नु पर्दछ ।’ मलाई लाग्यो, फिदिममा जागिर खाने मेरा विद्यार्थी  ज्ञानेन्द्र सुवेदी र पोखराका मित्र राजुु क्षेत्रीको अपेक्षामा समानता छ । यी दुबैले मेरो किताब पढिसकेका थिएनन् । सैद्धान्तिक रुपमा लेखनको  नैतिक उत्तरदायित्वबारे प्रश्न मात्र उठाइरहेका थिए ।

फाल्गुन ७ गते किताब बजारमा जानु केही दिन अघि सुचना मैले फेसबुक र ट्वीटरमा राखे । यो सजिलो विज्ञापन अहिलेको युगमा सबैले गर्दछन, मैले मात्र नगर्ने कुरा भएन । ट्वीटरमा एक जनामा पाठकको प्रतिक्रिया थियो– ‘डम्बर दाई, तपाईका लेखहरु केही वर्षदेखि पढ्दै आइरहेको छु । भरसक छुटाउँदिन । तर तिनै लेखहरुलाई जम्मा गरेर किताब बनाउनु भएको रहेछ भने त्यो एकप्रकारको ठगी सरह हुनेछ मेरा लागि । तपाईको किताब किन्ने हतारो यसर्थ गर्दिन कि पहिले पढिसकेका शीर्षक हुन कि हैनन् भनेर विषय सूची हेर्छु ।’

यो प्रतिक्रिया पनि लेखक–सम्बन्ध र ठगीसंग जोडिएको थियो । पोखराको पुस्तक संवादमा लेखिका सावित्री गौतमले सोध्नुभाथ्यो– तपाईको किताब नोटहरुको संग्रह हो कि किताब लेख्नका लागि भिन्नै मेहनत पनि परेको छ।’ कम्प्युटर युगले लेखकलाई ‘कटपेस्ट’ को सुविधा दिएको छ । यसको उपयोग अहिलेको युगमा अरु लेखकले पनि अवश्य गर्दा हुन । मैले पनि गरेको छु । तर लेखहरुको कलेक्सन बनाउँनु, एकपटक पाठकले पढीसकेका कुरा फेरि पैसा तिरेर पढ्न बाध्य बनाउँनुलाई पाठकले ठगीको रुपमा हेर्लान भन्ने लागेको थिएन । मेरो किताब त्यस्तो हैन पनि ।

यसको अर्थ यो नलागोस कि यस बीच नेपालमा सबै नराम्रो लेखिएको छ । लेखकहरु सबै ठग भइसके । लेखकहरुले लेखकीय  उत्तरदायित्व बहन गर्न छोडिसके । थुप्रै राम्रो लेखिएको छ । तर पाठकका जुन प्रश्न यस बीचमा मैले सामना गरे, त्यसले भित्रैदेखि हुँडेल्यो । पाठकहरुको लेखकप्रति कति ठूलो अपेक्षा र विश्वास हुँदो रहेछ । त्यो धान्न भने पक्कै गाह्रो काम हो ।