Friday, August 25, 2017

विचारधाराको पुनर्जन्म


डम्बर खतिवडा 
सन् १९९० पछि मात्र विश्वमा ‘विचारधाराको अन्त्य’ ‘इतिहासको अन्त्य’, ‘उत्तरवैचारिक युगको शुरुवात्’ वा ‘गैरवैचारिक राजनीतिको प्रारम्भ’ जस्ता अवधारणाहरुको चर्चा हुन थालेको बुझाई सत्य हैन । सन् १९६० मा प्रकाशित डेनियल वेलको एउटा किताबको नाम थियो नै थियो–द इन्ड अफ आइडोलजी । त्यतिखेरै राजनीतिमा ‘विचारधाराको अन्त्य’ का मुख्य चारवटा कारण चर्चा गरिएका थिए ।

एक– विचारधाराले राजनीतिमा सापेक्षिक स्थायित्व, संगति र औचित्यको माग गर्दछ जो खुल्ला लोकतान्त्रिक प्रणालीमा सर्वसाधारणसंग सधै हुँदैन ।  लोकतान्त्रिक देशमा मतदाताले तत्कालिन ‘इस्यु’ आधारित मतदान गर्दछन । तसर्थ विचारधाराको खासै औचित्य कायम हुँदैन ।

दुई– उदारवाद, साम्यवाद र सम्वद्र्धनवाद जस्ता विचारधाराहरुले जुनस्तरको वैचारिक भिन्नताको दाबी गर्दछन, राजनीतिक व्यवहारमा तिनीहरु त्यति नै भिन्न हुँदैनन् । तसर्थ फरक विचारधाराहरुको दाबी व्यवहारिक जीवनमा औचित्यहीन हुन्छ ।

तेस्रो–अठारौं वा उन्नाइसौं शताब्दिमा बनेका विचारधाराहरुले बीसौं शताब्दिका लागि त्यतिकै ठूलो अभिप्रेरणात्मक क्षमता राख्दैनन् । युग बद्लिएसंगै विचारधाराको ‘सत्यता’ माथि शंका उत्पन्न हुन्छ ।  चौथो– जुनसुकै विचाराधाराको  कुरा गरिए पनि मान्छेका आधारभूत मनोवैज्ञानिक प्रक्रियाहरु उस्तै हुन्छन् । तसर्थ जुनसुकै विचारधाराको मान्छेको नियति औसत एकै प्रकारको हुन्छ ।

यहाँनेर यो प्रश्न महत्वपूर्ण हुन्छ कि विचारधारा भनेको हो ? के हुँदा विचारधारा जिवित भएको मानिएको थियो ? किन विचारधाराको अन्त्य भएको ठानियो ? विचारधारा एउटा यस्तो चिन्तनपद्धति वा चिन्तन श्रृंखला हो जस्ले मान्छेका आर्थिक, सामाजिक, साँस्कृतिक तथा मनोवैज्ञानिक पक्षहरु बीच सामञ्जस्यतापूर्ण सोच स्थापित गर्ने प्रयास गर्दछ । अर्थात् विचारधारा मूल्य, मान्यता, दृष्टिकोण र विश्वासहरुको ‘संगठित संस्था’ हो । जब राजनीतिमा ‘विचारधारा’ को कुरा उठ्छ, त्यसले एउटा निश्चित प्रकारको राज्यव्यवस्था, अर्थतन्त्रको ढाँचा, राजनीतिक प्रणाली र राजनीतिक संस्कृतिप्रतिको आस्था, विश्वास र लगाबलाई व्यक्त गर्दछ ।

अठारौं, उन्नाइसौं र बीसौं शताब्दि मूलतः विचारधारा केन्द्रित राजनीतिको युग थियो । त्यसको अर्थ मानिसले मुख्य गरी तीन प्रकारको राजनीतिक प्रणालीमा विश्वास गर्दथे । ती थिए–तानाशाही, प्रजातन्त्र र कम्युनिज्म । त्यसैगरी तीन प्रकारको अर्थतन्त्रको ढाँचा थियो– खुल्ला बजार अर्थतन्त्र, राज्यनिर्देशित  समाजवाद र मिश्रित अर्थतन्त्र । राजनीतिक व्यक्ति, पार्टी र आन्दोलनहरु यी तीन मध्ये कुनै एक प्रणालीका पक्षधर थिए । यी तीन मध्ये कुनै एक विचार, आन्दोलन र पार्टीमा समर्पित हुनुलाई ‘विचारधाराको राजनीति’ भन्ने गरिन्थ्यो, जो नेपालका हकमा अहिले पनि कायम नै छ । 

सन् १९५० को दशकमा यी विचारहरुप्रतिको विश्वास टुट्न थालिसकेको थियो । ती विचारधाराहरु अपनाएर संघर्ष गरे जेजस्तो प्रकारको समाज व्यवस्था प्राप्त हुन्छ भन्ने आशा गरिएको थियो, व्यवहारमा त्यो प्राप्त भएन । फलतः सबै प्रकारका ‘महाआख्यान’ प्रति शंका उत्पन्न भए । त्यस परिस्थितिमा विल्कुलै सरल विश्लेषणहरु अगाडि आए । त्यो के भने मानवीय आकांक्षाहरु अतिसरल   छन । त्यसको अतिसैद्धान्तिकरण वा अतिआदर्शीकरण विल्कुल एउटा ‘झुठो विश्वास’ हो । मान्छेलाई भौतिक पूर्वाधार चाहिन्छ, त्यो कुनै पनि विचारधाराले चाहिँदैन भन्दैन । मान्छेलाई धन, सम्पति र रोजगार चाहिन्छ, त्यो कुनै पनि विचारधाराले चाहिँदैन भन्दैन । राज्य सुशासित, प्रभावकारी र निष्पक्ष होस् भन्ने सबै विचारधाराको मनसाय हुन्छ, तर मानवीय स्वार्थ र शक्तिको अहंका कारण जुनसुकै विचारधाराबाट संचालित राज्यमा पनि भ्रष्टाचार, नातावाद, कृपावाद र पक्षपात भइरहेको हुन्छ । त्यसो भए विचारधाराले के फरक पर्यो त ? यसरी ‘विचारधारा केन्द्रित राजनीति’ प्रति अविश्वास पैदा भयो ।

त्यसपछि राजनीतिमा जेजस्ता एजेण्डा निर्माण हुन थाले– त्यसले विचारधाराको कुरा नगरिकन सेवासुविधा सुधारका योजनाहरु अगाडि बढ्न थाले । राजनीति अब सैद्धान्तिक आग्रहबाट  कार्यक्रमिक प्रतिस्पर्धामा उत्रियो । एउटा देशमा फरकफरक विचारधारा भएका पार्टी हुन्छन, तिनीहरु बीच दार्शनिक कारणले प्रतिस्पर्धा भएको हुन्छ भन्ने विश्वास कायम रहन सकेन । एउटै दार्शनिक परम्पराभित्र पनि अनेक दलहरु बन्न थाले । उनीहरुको भिन्नता सैद्धान्तिक मान्यताबाट हैन, नीतिगत तथा कार्यक्रमिक भिन्नताबाट मापन गर्न थालियो । उदाहरणका लागि नेपालमा अहिले एमाले र माओवादी केन्द्र, दुबै दलको दार्शनिक मान्यता एकै हो । तर नीतिगत तथा कार्यक्रमिक हिसाबले यी बिल्कुलै एक छैनन् । अमेरिकामा रिपब्लिकन र डेमोक्रयाट्सहरु बीचको दार्शनिक भिन्नता बुझ्न सजिलो छैन ।  वेलायतको लेवर र कन्जर्भेटिभ पार्टी पनि झण्डैझण्डै उस्तै प्रतीत हुन्छन । यदि दार्शनिक मान्यता एउटै भएर पनि फरकफरक नीति तथा कार्यक्रम बन्न सक्छ, कार्यदिशा र कार्यव्यवहार फरकफरक बन्न सक्छ भने विचारधाराको औचित्य कहाँनेर रह्यो भन्ने प्रश्न उठनु स्वभाविक हो । संभवत् यही नै ‘गैरवैचारिक राजनीतिको युगारम्भ’ विश्लेषण अगाडि आउँनुको मुख्य कारण थियो ।  

अठारौं शताब्दिको फ्रान्सबाट राजनीतिमा एउटा नयाँ ‘कन्सेप्ट’ निर्माण भएको थियो–बामपन्थी र दक्षिणपन्थी । भरखरै फ्रान्समा सत्तारुढ हुन पुगेको दल ‘इन मार्के’ ले आफूलाई न बामपन्थी भन्छ न दक्षिणपन्थी । विचारधारा युगका विश्लेषकहरु यसलाई ‘राजनीतिको पानी रंग’ भन्दछन वस्तुतः यो विश्लेषण पद्धतिमै आएको भिन्नता थियो । ‘बामपन्थ’ को जन्म ‘क्रान्तिकारी’ भन्ने अर्थमा भएको थियो ‘कम्युनिष्ट’ भन्ने अर्थमा हैन । तर विचारधारावादी राजनीतिको युगले ‘बामपन्थ’ र ‘कम्युनिष्ट’ लाई पर्यायबाची जस्तै बनाइदियो । जस्तो कि नेपालमा अहिले पनि धेरैले ‘बामपन्थ’ र ‘कम्युनिष्ट’ बीच अर्थभेद गरिरहन्न । गैरवैचारिक विश्लेषण पद्धतिले यस्तो अर्थ–विधिलाई अस्वीकार गर्दछ । ‘बामपन्थ’ वा ‘दक्षिणपन्थ’ दुबै चिन्तनले राजनीतिक तथा सामाजिक प्रणालीमा गतिशील  सन्तुलन कायम गर्न नसक्ने हुँदा ‘अग्रपन्थ’ एउटा भिन्नै विश्लेषण पद्धतिका रुपमा  स्वीकार गरिन्छ। ।

राजनीतिक विचारधाराका जहिल्यै मुख्य तीन वटा आयाम हुन्छन । राजनीतिक प्रणाली, अर्थतन्त्रको ढाँचा र निश्चित प्रकारको आमसंस्कृतिको पैरवी । विचारधारावादी युगले ‘स्वतन्त्रता’ विरुद्ध ‘समानता’ को बहसलाई तीव्र बनायो । कम्युनिष्टहरुले जेलाई ‘पुँजीवाद’ भने कम्युनिष्ट चिन्तनमा विश्वास नगर्नेहरुले त्यसैलाई ‘लोकतन्त्र’ भने । ‘पुँजीवाद’ र ‘लोकतन्त्र’ एउटै कुरा हो कि फरक भनेर बुझ्न उत्तरवैचारिक युगसम्म नै आउनु पर्यो । आज यो सान्दर्भिक छैन । किनकी आज संसारमा ‘सोभियत प्रणाली’ वा ‘सर्वहारा अधिनायकत्व’ मा विश्वास गर्ने कम्युनिष्टहरुको विउँ पाउँन पनि गह्रो हुँदै गएको छ । आज उनीहरु पनि त्यही राजनीतिक प्रणाली प्रयोग गरिरहेका छन जसलाई वैचारिक युगमा उनीहरु ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल’ का रुपमा सर्वत्र निन्दा गर्थे । ‘पुँजीवाद’ र ‘लोकतन्त्र’ फरकफरक हुन भन्ने बुझाई गैरवैचारिक युगले नै दिएको राहत सरह भयो ।

अर्कोतिर लोकतन्त्रवादीहरुले ‘समाजवाद’ र ‘अधिनायकवाद’ बीच  भेद गर्न खोजे । समाजवादमा ‘आर्थिक समानता’ हुन्छ भन्ने गौरवमाथि त्यहाँ ‘राजनीतिक स्वतन्त्रता’ हुँदैन भन्ने बहसले किचिरह्यो । यस दृष्टिकोणबाट विद्यमान राजनीतिक प्रणालीहरु ४ प्रकारका देखिन्छन । जहाँ समानता र स्वतन्त्रता, दुबै तत्वको अनुपस्थिति हुन्छ, त्यो तानाशाही हो । यसभित्र राजतन्त्र, सैनिक शासन, धार्मिक शासन र फासिष्ट शासन पर्दछ । जहाँ आर्थिक समानताको प्रयास हुन्छ तर स्वतन्त्रता हुँदैन, त्यो लेनिन÷स्तालिन÷ माओवादी साम्यवाद हो । जहाँ आर्थिक असमानता र राजनीतिक स्वतन्त्रता हुन्छ त्यो उदार लोकतन्त्र वा पुँजीवाद हो । जहाँ आर्थिक समानताको प्रयास र राजनीतिक स्वतन्त्रता दुबै हुन्छ, त्यो सामाजिक जनवाद हो । गैरवैचारिक युगसम्म आउँदा यसप्रकारको वर्गिकरण कसैका लागि पनि सैह्य थिएन । सबैले आफूलाई स्वतन्त्रता र समानता दुबै तत्वको पक्षधरका रुपमा अथ्र्याउँन थाले । यी चार विचारधारा बीचको व्यवहारिक दुरी कमजोर भएर गयो । 

अर्थतन्त्रको ढाँचाका हिसाबले पनि गैरवैचारिक युगका विशेषताहरु निक्कै प्रष्ट थिए । समाजवादमा निजीस्वामित्वको अन्त्य, उत्पादन साधनको आम राष्ट्रियकरण र नोकरशाहीमा आधारित वितरण प्रणाली कायम रहनसक्छ भन्ने विश्वास कसैमा बाँकी रहेन । जब कि स्टालिन र माओका समर्थकहरुमा यस्तो वलियो विश्वास थियो । अर्कोतिर खुल्ला बजार र निजी स्वामित्वका पक्षधरहरुले पनि ट्रेड युनियन आन्दोलनलाई स्वीकार गर्ने, पेन्सन, भत्ता, बोनस र ओटी लागू गर्ने, कम्पनीको ढाँचालाई पब्लिक कम्पनीका रुपमा स्वामित्वको  जनसाधारणमा विस्तार गर्ने, सामाजिक सुरक्षामा लगानी गर्ने नीति लिए । दुबैतिर अर्थतन्त्रको मिश्रित ढाँचा र योजनाबद्ध आर्थिक विकासको अवधारणाले प्रवेश पायो । चीनमा देङ्गको पुनर्उदयपछि उनले माओवादी राजनीतिक प्रणाली चाँहि कायमै राखे तर आर्थिक प्रणालीलाई व्यापक रुपमा उल्टाइदिए । आर्थिक कार्यक्रममा खासै भिन्नता रहको अर्थमा गैरवैचारिक युगको कुरा हुन थाल्यो ।

आमसंस्कृतिका दृष्टिकोणबाट पनि खुल्ला समाज, अभिव्यक्तिको स्वतन्त्रता, उपभोक्तावाद र बहुलता अझ अगाडि बढेर बहुसँस्कृतिकता (मल्टीकल्चरालिज्म) प्रतिको स्वीकार्यता व्यापक हुँदै गयो । यो अवधारणाले चरम आर्थिक विकासपछि पनि चीनजस्ता देशहरुको राजनीतिक प्रणालीलाई ‘लोकतन्त्र’ मान्न नसकिने धारणा तीव्र हुँदै गएको छ । 

‘विचारधाराको पुनर्जन्म’ यस अर्थमा प्रासंगिक छ कि मान्छेहरु उदार लोकतन्त्रका परम्परागत सीमाहरुबाट आजित हुँदै गएकाछन । पुँजीवादी भनिएकाहरु त्यही थिए, कम्युनिष्टहरु पनि केही अपवादहरुलाई छोडेर विश्वव्यापी रुपमा ‘उदार लोकतन्त्र’ मा फर्किए । उदाहरणका लागि नेपालमा कांग्रेसले भन्ने ‘प्रजातान्त्रिक समाजवाद’ र एमालेले भन्ने ‘जनताको बहुदलीय जनवाद’ बीच गुणतत्वको  भिन्नता प्राप्त गर्न सहज छैन । त्यसोे भए लोकतन्त्रको अझ मिहिन, गहिरो, जिवन्त, मूर्त र मानवीय प्रारुपको अन्वेषण गर्नु पर्ने आवश्यकताले ‘विचारधाराको पुनर्जन्म’ लाई सान्दर्भिक बनाइदिएको छ ।

अर्थतन्त्रको ढाँचाबारे पनि ठीक त्यही समस्या छ । अमेरिका र चीनमा खर्बपतिको संख्या, गरिबीको दर र धनी–गरिबी बीचको भिन्नता देखाउँने ‘गिनी कोफिसियन्ट’ खासै भिन्न छैन । चीन के कारणले समाजवाद हो र अमेरिका के कारणले पुँजीवाद हो भन्ने प्रश्नको उत्तर दिन वैचारिक युगका विश्लेषक र बौद्धिकहरुलाई सजिलो छैन । अर्थतन्त्रको अझ गतिशील, मानवीय र समतामुखी अर्थतन्त्रको खोज हुन सक्छ कि सक्दैन ? यदि हुन सक्छ भने त्यसले ‘विचारधाराको पुनर्जन्म’ को पुनर्जन्मलाई सुनिश्चित गर्दछ ।

गत स्थानीय चुनावमा पहिलो पटक भाग लिएका केही नयाँ दलहरुबारे नेपालमा यो बहसको आकर्षिक थियो कि उनीहरुसंग कुनै विचार छैन, ती गैरवैचारिक युगका प्रतिनिधीहरु हुन । के मान्छे गैरवैचारिक हुन सक्छ ? सामान्य प्राकृतिक नियमका हिसाबले नै यो संभव छैन । जसरी मान्छेको पेटलाई खाना, योनाङ्गहरुलाई मैथुन चाहिन्छ, त्यसरी नै मष्तिष्कलाई अनिवार्य रुपमा विचार चाहिन्छ । विचार मष्तिष्क अंगको भोजन र उत्पदान एक साथ दुबै हो । कुनै युगको ‘सेट’ विचारलाई कसैले मान्दैन भन्दैमा उसलाई गैरवैचारिक भएको आरोप लगाउँन सकिँदैन । यो भन्नै पर्ने हुन्छ कि आज ‘उत्तरवैचारिक युगको शुरुवात’ भएको हैन ‘विचारधाराको पुनर्जन्म’ भइरहेको छ ।