Saturday, October 3, 2015

नयाँ शक्तिको संभावना


डम्बर खतिवडा
नयाँ संविधानसंगै एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘पुरानो पार्टी’ परित्याग गरेकाछन । कसैकसैलाई यो घटना नितान्त आकस्मिक, अस्वभाविक र ‘सरप्राइज’ दिने खालको लागे पनि वस्तुतः यो त्यस्तो घटना हैन ।
 
केही वर्ष यता उनले नेपालमा ‘नयाँ शक्ति’ को आवश्यकताबारे लेख्दै, बोल्दै आएका थिए । र कतिपय सन्दर्भमा यो प्रष्टाएका थिए कि नयाँ संविधान निर्माणको जिम्मेवारी पूरा गर्ने वित्तिकै उनी नयाँ शक्ति निर्माणको अभियानमा लाग्नेछन । बुझ्नेलाई इशारा काफी थियो । तसर्थ बाबुरामको पार्टी परित्यागलाई मधेस
आन्दोलनको उत्कर्ष र भारतको नाकाबन्दीसंग जोडनु सान्दर्भिक हो जस्तो लाग्दैन ।
 
त्यो भिन्नै कुरा हो कि मधेसी, जनजातिलगायत सीमान्तकृत समुदायका माग र आन्दोलनप्रति उनी सहानुभूति राख्छन । त्यो काम त उनी पुरानै पार्टीमा बसेर पनि गर्न सक्थे । त्यति कै लागि हो भने पार्टी परित्याग गरिरहन जरुरी थिएन । बाबुरामको पार्टी परित्यागको मुख्य उद्देश्य ढिलो चाँडो नयाँ शक्ति निर्माण गर्नु नै हो  । नयाँ शक्ति भनेको कुनै अमूर्त विषय हैन, प्रकारान्तले नयाँ पार्टी निर्माण नै हो भन्ने कुरामा कोही पनि भ्रमका पर्न जरुरी छैन । 
 
तर प्रश्न उठ्छ उनले किन नयाँ पार्टी गठन गर्नु पर्ने आवश्यकता गरे ? यो उनको मनोगत लहड मात्र हो कि देशको वस्तुगत आवश्यकता पनि हो ?  नेपालका नयाँ शक्ति चाहिन्छ कि चाहिँदैन ? बन्न सक्छ कि सक्दैन ? बन्न सक्छ भने कसरी बन्न सक्छ ? के के हुन सक्छन त्यसका दर्शन, एजेन्डा, नीति तथा कार्यक्रम र संगठनात्मक संस्कृति ? यदि साँच्चै नयाँ शक्ति बनाउँने हो भने काम कहाँ नेर  थाल्न पर्छ ? जस्ता विषयमा आफ्ना बुझाईहरु लेख्ने अनुमति चाहन्छु ।
 
विकल्प कि प्रतिस्थापन ?
नेपालमा नयाँ शक्ति केवल थप एउटा पार्टी हुनु हुँदैन ।  त्यो अहिलेका समग्र वेथितिको विकल्प हुनु सक्नुपर्छ, केवल प्रतिस्थापन हैन । त्यसले राष्ट्रिय जीवनका रहेक क्षेत्रमा नीतिगत विकल्प प्रस्तुत गर्नु पर्छ । विशेषतः विद्यमान संविधानलाई आलोचनात्मक समर्थन गर्ने, लोकतन्त्र, गणतन्त्र, संघीयता, धार्मिक स्वतन्त्रता र समावेशिताजस्ता सिद्धान्तको रक्षा गर्ने तर शासकीय स्वरुप, राज्यपुनर्संरचना, प्रशासनिक सँस्कृति, विकास मोडेलको निरुपण, पारदर्शी र उत्तरदायी राजनीतिक प्रणालीको पक्षमा फरक जनमत निर्माण गर्दै उद्देश्य त्यसले लिन जरुरी छ ।
 
बाबुराम हिजो माओवादी आन्दोलनमा थिए, तसर्थ नयाँ शक्तिका लागि काम गर्ने अधिकार राख्दैनन् भन्नु निक्कै साँघुरो दृष्टिकोण हुनेछ । मान्छे जो भए पनि हुन्छ, संस्कार र पद्धति फेर्न पर्छ । मानिस आकासबाट झरेर आउँदैनन् । धर्ती फुटेर पनि निस्किदैनन् । मानिसलाई प्रकृतिले जन्मिदै खराब बनाएको हुँदैन । सिष्टम, संस्कार र संस्कृतिले खराब बनाउँने हो । तसर्थ ‘नयाँ शक्ति’ को मुख्य लडाई कुनै पार्टी वा व्यक्तिसंग हैन, खराब सिष्टम, संस्कार र संस्कृतिसंग हुनु पर्छ । उस्तै सिद्धान्त, सिष्टम, संस्कार र संस्कृतिमा विश्वास गर्ने एउटा अर्को पार्टी बजाउँने झंझट गर्नुको कुनै काम छैन ।
 
यस दृष्टिकोणबाट हेर्दा उनले चालेको कदम केही फरक छ । उनले पार्टीको संसदीय दल टुक्राउँने प्रयास गरेनन्, बरु आफै संसदीय दल परित्याग गरे । एमाओवादी पार्टी, वा माओवादी आन्दोलनभित्रको एउटा सानो समूहलाई समेटेर, मातृका, बैद्य वा बिप्लवले जस्तो अर्को माओवादी समूह बनाउँनु सायद उनको उद्देश्य हैन, त्यो बाटोबाट उनले नयाँ शक्ति निर्माणमा योगदान गर्न सक्ने कुनै गुन्जायस छैन । नयाँ शक्तिको प्रयास निक्कै फराकिलो र उदात्त प्रकारको हुनु पर्छ ।
 
दर्शनको प्रश्नः
‘नयाँ शक्ति’ को  दार्शनिक आधार पुँजीवाद, साम्यवाद, प्रजातान्त्रिक समाजवाद, सामन्तवाद वा राजावाद, धर्म, वर्ग, वर्ण, लिंग, जाति वा पहिचानवाद, मधेसवाद वा यस्तै अरु कुनै अहिले नेपालमा प्रचलित रहेका एकल दर्शन हुनु सक्दैनन् । दर्शनको मुख्य आधार ‘मानवतावाद’ हुनु पर्छ । त्यसको मुख्य कार्यदिशा बामकेन्द्रवादी (लेफ्ट सेन्ट्रालिष्ट) हुनु जरुरी छ ।
 
त्यसले सामाजिक न्यायसहितको बजार अर्थतन्त्र, सहभागितामुलक लोकतन्त्र, न्यायपूर्ण भूमण्डलीकरण, श्रमको गरिमा, श्रमिकबर्गको मालिकीकरण, श्रम र पुँजीबीच ‘द्वन्द्वात्मक सन्तुलन’, भौतिकवादी विकास र संमृद्धि, पूर्वीया दर्शनमा आधारित सदाचारी र अध्यात्मिक जीवन शैली ( योग, ध्यान, मनोसाधना, दान, परोपकार, करुणा,  छिमेकीभाव, नैतिक मूल्य ), संस्थागत विकास प्रक्रिया आदि दार्शनिक आधारमा विश्वास गर्नु सक्नु पर्दछ । 
 
कुनै पनि देशी वा विदेशी व्यक्तिका नामबाट बनेका सिद्धान्तलाई पार्टीको नाम र मार्गदर्शक सिद्धान्तसंग जोड्ने काम गर्नु हुँदैन । व्यक्तिको सार्वभौमसत्ता र व्यक्तिगत अस्तित्वको सम्पुष्टिका लागि सामाजिकतामा विश्वास गर्नु पर्छ । दर्शनको मुख्य आधार तत्व न्याय, स्वतन्त्रता, समानता र मुक्ति हुनुपर्छ । राष्ट्रवाद, संघवाद, लोकतन्त्र र बजार–समाजवाद यसको दार्शनिक विश्वास हुनु पर्दछ ।
 
प्रकृति, प्रविधि, प्रसाशन र बजारको समन्वयबाट मात्र विकास, संमृद्धि, सुख र सन्तुष्टि फलित हुन सक्छ । त्यसका लागि ज्ञान, दान, कर ( यी ३ चीज अरुलाई दिन खुशी हुने) मा विश्वास गर्ने मानव संस्कृति विकास गर्नु पर्ने हुन्छ ।
 
यस दृष्टिकोणबाट हेर्दा बाबुरामको बाटो अहिलेसम्म प्रष्ट छैन । तर उनी अब शास्त्रीय माक्र्सवाद–लेनिनवाद–माओवादको बाटोमा नलाग्लान भन्ने अनुमानसम्म गर्न सकिन्छ । शास्त्रीय मालेमावादलाई नै मार्गदर्शक सिद्धान्त मानेर अघि बढ्ने प्रयास गरेमा त्यो नयाँ शक्ति हुने छैन, दर्जनौं कम्युनिष्ट समूहका बीचमा एउटा अर्को कम्युनिष्ट समूह मात्र हुनेछ ।    
 
अन्तर्पार्टी लोकतन्त्रः
अन्तपार्टी लोकतन्त्र ‘नयाँ शक्ति’ का लागि अर्को महत्वपूर्ण प्रश्न हो । पार्टीभित्र नेताले प्रतिवेदन पेश गर्ने,  कार्यकर्ताले सुन्ने र ताली बजाउँने मात्र हैन, हरेक कार्यकर्ताले नीतिगत प्रश्नमा छलफल गर्न र प्रस्ताव पेश गर्न पाउँने पार्टी संरचना हुन आवश्यक छ ।
 
विचारको खुल्ला बहस,  पार्टीका आन्तरिक निर्वाचन सम्पन्न गर्न निष्पक्ष र तटस्थ खालको निर्वाचन आयोग, आम पार्टी सदस्यबीचबाट खुल्ला प्रतिस्पर्धाका आधारमा सबै तहका पार्टी नेतृत्वको निर्वाचन, सार्वजनिक निर्वाचनमा जुन तहको पार्टी अनुमोदनपत्र चहिएको हो, त्यही सीमा भित्र बसोबास गर्ने पार्टी सदस्य मतदाता रहने आन्तरिक निर्वाचनको प्रक्रिया पूरा नगरिकन कुनै पनि तहको पार्टी टिकट वितरण नगरिनु आदि अन्तर्पार्टी लोकतन्त्रलाई जिवन्त बनाउँन सक्ने प्रचलन विकास नगर्ने नयाँ शक्तिको कुनै काम छैन ।
 
कम्युनिष्ट पार्टीहरुमा जस्तो महासचिव, पोलिटब्यूरो वा प्रेजिडियम सर्वैसर्वा हुने, गैरकम्युनिष्ट पार्टीहरुमा जस्तो शक्तिशाली नेता  वा नेताहरुको समूहले जे गरे पनि हुने पार्टी संगठन बनेमा त्यस्तो थप पार्टी नयाँ शक्ति हुनै सक्दैन । 
 
पारदर्शिताः
‘नयाँ शक्ति’ ले पारदर्शिता र सुशासनको अभ्यास आफ्नै पार्टीभित्रबाट शुरुवात् गर्नु पर्छ । खासखास समयमा विशेषतः निर्वाचन खर्चका लागि बाहेक चन्दा उठाउँनु हुँदैन । पार्टीका नियमित कार्यक्रमहरु पार्टी कार्यकर्ताले तिर्ने सदस्यता शुल्कबाटै संचालन गर्नु पर्छ । पार्टी कार्यालयका कर्मचारी बाहेक पार्टी कोषबाट भरणपोषण गर्ने एउटा पनि पूर्णकालिन पार्टी कार्यकर्ता वा नेता राख्न हुँदैन ।
 
हरेक पार्टी अभियन्ताहरुको कुनै न कुनै आमदानीको पेशा हुनु पर्छ । यात पारिवारिक आमदानीले धानिने हुन पर्छ । यात पूर्ण रुपमा समर्पित सन्त कार्यकर्ता हुनु पर्छ । पार्टी कोषको खर्च नियमावली अन्तर्गत हुनु पर्छ । सबै चन्दा रकम सार्वजनिक गरिनु पर्छ । नाम सार्वजिनक गर्न नमिल्ने वा सार्वजनिक गर्न नचाहने चन्दादाताबाट चन्दा लिन हुँदैन । अनि मात्र त्यो नयाँ शक्ति हो भन्न मिल्छ ।
 
सकारात्मक सोचः
अबको राजनीति सकारात्मक सोच र रचनात्मक प्रतिपक्षतामा आधारित हुनु पर्छ । आफ्नो पार्टीले जे गरे पनि ठीक, अरु पार्टीले जे गरेपनि बेठीक भन्ने संस्कार बन्न दिनु हुँदैन । अरुको विरोध गर्नु भन्दा धेर आफ्ना योजना प्रसारण गर्नु पर्छ । राम्रो काम जसले गरे पनि उसलाई सार्वजिनक रुपमा नै धन्यवाद दिनु पर्छ । विरोधी पार्टीका पनि असल नीति तथा कार्यक्रमको सम्मान गर्नु पर्छ । 
गलत कुराको मात्र विरोध र भण्डाफोर गर्नु पर्छ । विरोध गर्दा पनि तर्कतथ्यसहित सभ्य भाषामा गर्नु पर्छ ।
 
पाँडेगाली गर्दै हिड्ने संस्कारलाई बढावा दिनु हुँदैन । सार्वजनिक भेटघाट र व्यक्तिगत जीवनमा पनि विपक्षी नेताहरुको सम्मान गर्नु पर्छ । जनताका विरोधलाई ध्यान दिएर सुन्नु पर्छ । जनतामा तीव्र आक्रोश र उत्तेजना शुरुवात् हुनु अगाडि नै उनीहरुका मागलाई संबोधन गर्ने प्रयास गर्नु पर्छ । नागरिक समाजसंग निरन्तर अन्तक्र्रियामा रहनु पर्छ र उनीहरुका सुझाबलाई सकेसम्म आत्मसात गर्नु पर्छ ।
 
नयाँ लोकतान्त्रिक सँस्कृतिको अभ्यास विना नयाँ शक्तिको बहस अर्थहीन हुन्छ ।
 
विकास मोडेलको निरुपणः
विकास र संमृद्धिको नारा लगाएर मात्र विकास हुन सक्दैन । त्यसका लागि प्रथमतः कस्तो विकास प्रारुप अपनाउँने भन्ने प्रश्न नै मुख्य हो । नेपालमा अहिले आधारभूत सार्वजिनक सेवाका रुपमा ७ वटा कुरालाई प्राथमिकतामा राख्न अत्यन्त जरुरी छ । शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी, विजुली, सडक र यातायात  । यी सबै क्षेत्रमा ठूल्ठूला विसंगति छन । निजी शिक्षा मुनाफाखोरहरुको हातमा परेको छ । अत्यन्त मंहगो छ । सार्वजिनक शिक्षा गुणस्तरहीन र समाप्तप्राय हुँदैछ ।
 
सरसफाई संचेतना गरिब वस्तीहरुमा कमजोर छ । ठूला शहरहरु खानेपानी अभावको चपेटामा परिरहेकाछन । लोडसेडिङ्गको संकट उत्तिकै चर्को छ । विग्रदो सडक स्थितिले मृत्युको ठूलो कारण सडक दूर्घटना बन्न पुगेको छ । यी ७ वटा क्षेत्रलाई अबिलम्ब सुधार गर्ने योजना बनाउँनु पर्छ । विकल्पसहित भन्न सक्नु पर्छ, यी ७ क्षेत्रमा अहिले गरिएको भन्दा यी यी फरक काम गरिने छ ।
 
त्यसपछि शहरीकरण, प्रशासनिक विभाजन, गाउँशहर अन्र्तसम्बन्ध र अर्थतन्त्रका सबै क्षेत्रहरु गतिशील हुन सक्ने संस्थागत संरचना प्रस्तावित गर्न सक्नु पर्ने हुन्छ । विकास मोडेलसंग जोडिएको प्रशासनिक पुनर्संरचनाका पक्षमा संविधान संशोधनका लागि जनमत निर्माण गर्न थाल्नु पर्ने हुन्छ । अहिलेको संघीयताको मोडेलबाट नेपालमा विकासमैत्री प्रशासन सायदै संभव होला । केन्द्र, प्रदेश र स्थानीय सरकार बीच प्रष्ट कार्यविभाजन गर्ने, जिल्ला संरचना खारेज गर्ने, जिल्लाले गरिरहेका अधिकांश कामहरु स्थानीय सरकारलाई दिने, स्थानीय संरचनाहरु ठूलो आकारका बनाउँने, प्रदेश संरचनाहरु सानो आकारका बनाउँने आदि जारी संविधानसंग नमिल्ने बैकल्पिक प्रस्तावहरुको पक्षमा तुरुन्तै जनमत निर्माण कार्य प्रारम्भ हुनुपर्छ ।

श्रम र पुँजीको सन्तुलन
नेपालमा श्रम आन्दोलन अत्यन्त बिश्रृंखलित र अराजक छ । त्यो असाध्यै धेरै पार्टीकरण पनि भएको छ । त्यसलाई फेर्ने, मर्यादित श्रम ऐन र ट्रेड यूनियन आन्दोलनका पक्षमा लबिङ्ग गर्ने गरिनु पर्छं । राष्ट्रिय ज्याला आयोग बनाउँने, हरेक वर्ष न्यूनत्म ज्यालालाई पुनरावलोकन गर्ने,  रोजगारदाताहरुले न्यूनतम ज्याला दिए नदिएको बलियो अनुगमन गर्ने, जुन रोजगारदाताले नाफा हुँदाहुँदै पनि न्यूनत्म ज्याला नदिएको हो, त्यसलाई कार्वाही गर्ने, जुन  रोजगारदताले नाफा गर्न नसकेर ज्याला दिन नसकेको त्यो छुट्याएर त्यस्ता रोजगारदातालाई ज्याला अनुदान दिने गर्नु पर्ने हुन्छ ।
अराजक श्रम आन्दोलनको पक्षमा लागेर लगानीकर्ताहरुलाई दुःख दिने काम पिटिक्कै गर्नु हुँदैन । भन्नेले वर्गसंमन्वयवादी भनिरहुन, मतलब छैन, श्रम र पूँजीबीच सन्तुलन कायम गर्न छोड्न हुन्न । पुँजी र श्रममध्ये कुनै एक पक्षको पक्षधर नयाँ शक्ति बन्नु हुन्न ।
 
एक दशकको धैर्यताः
कतिपयलाई लागेको हुन सक्छ, ‘नयाँ शक्ति’ बन्ने वित्तिकै सबै मान्छे खुरुखुरु आउँने छन, त्यसले तुरुन्तै निर्वाचनमा बहुमत हासिल गर्ने छ । यस्तो चिन्तन राजनीतिक प्रक्रिया नबुझ्नेहरुको मनोवेग मात्र हो । राजनीतिक शक्ति त्यसरी कहिल्यै पनि कहिँ पनि बन्दैन । 
 
संगठन र नेतृत्वको सँस्कृति परख नगरिकन नागरिकले तुरुन्तै कसैलाई पनि विश्वास गर्दैनन् । नागरिक त्यति मुर्ख हुँदैनन् कि कुनै ‘नयाँ जोगी’ आउँने वित्तिकै त्यसैलाई भगवान ठानेर पूजा गर्न थालुन । तसर्थ ‘नयाँ शक्ति’ बनाउँन चाहानेले कम्तिमा एक दशकको धैर्यता त गर्नै पर्छ । त्यति पनि धैर्यता नभएकाले यो अभियानमा सामेल नहुनु नै राम्रो हुन्छ । राजनीतिमा एक दशक कुनै धेरै समय हैन ।
 
डा. बाबुराम भट्राईका लागि मात्र हैन, नयाँ शक्तिको बहसमा सामेल सबैका लागि यी र यी यस्ता केही पक्षहरु विचारणीय छन जस्तो लाग्छ ।    

No comments:

Post a Comment