Sunday, November 1, 2015

माक्र्सवाद भने पुन्य र नभने पाप लाग्ने हैन


डम्बर खतिवडा
देशमा ‘नयाँ शक्ति’ को बहस बढ्दै जाँदा एक खाले मानिसले यसलाई नेपालको कम्युनिष्ट आन्दोलनसंग जबरजबस्त जोड्ने अनावश्यक प्रयत्न प्रारम्भ गरेका छन । उनीहरुको राजनीतिक बाध्यता पूर्व माओवादी नेता तथा तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका कदमहरुलाई निस्तेज गर्नु हुन सक्छ । तर ‘नयाँ शक्ति’ को बहसलाई केवल डा. भट्टराइसंग मात्र जोडेर हेर्नु सर्वथा अनुचित हो । ‘नयाँ शक्ति’ वस्तुतः वैकल्पिक बहसको केन्द्ररहित र स्वस्फूर्त फैलाब हो ।  
 
डा. भट्टराईले दोस्रो संविधानसभाको निर्वाचनपछि मात्र ‘नयाँ शक्ति’ को कुरा खुलेर गर्न थालेका हुन । त्यसअघि नै नेपालमा सहभागितामूलक लोकतन्त्र, बजार–समाजवाद, सुशासन, पारदर्शिता, विकास र संमृद्धिको सवालमा आधारित नयाँ राजनीतिक आन्दोलन÷अभियान आवश्यक छ भनेर लेख्ने, बोल्ने, थुप्रै स्वतन्त्र मान्छेहरु तयार भइसका थिए । तसर्थ यो बहस कम्युनिष्ट आन्दोलन बाहिरको एउटा फरक, स्वतन्त्र, सृजनशील र रचनात्मक वैचारिक अभियान हो । यसलाई कम्युनिष्ट आन्दोलनभित्रको टुटफुट, आग्रह, विग्रह, रिस, कुन्ठा र प्रतिशोधसंग जोड्ने प्रयास गर्नु बिडम्बनाबाहेक अर्थोक केही हैन ।
 
डा. भट्टराईसमेत यो स्वतन्त्र र केन्द्ररहित मिसनमा स्वस्फूर्त सामेल भएपछि ‘नयाँ शक्ति’ को बहसले फैलिने अवसर पाउँनु स्वभाविक थियो । यसवापत ‘नयाँ शक्ति’ को बहसमा संलग्नहरुले उनीलाई धन्यवाद दिनु पर्ने हुन्छ । यो बहसको फैलावमा डा. भट्टराईको योगदान आफैमा महत्वपूर्ण बन्न पुगेको छ । एमाओवादी, एमाले वा अन्य कम्युनिष्ट कार्यकर्ताहरुले यस वापत उनलाई अनावश्यक निन्दा, विरोध र प्रतिशोधको तारो बनाउँनु स्वभाविक लाग्दैन । व्यक्ति आफ्नो विचार छान्न आफै स्वतन्त्र हुन्छ । भटट्राईले एमाओवादी छोडेको रिस साँध्न  स्वतन्त्र, रचनात्मक र भविष्यमुखी सकारात्मक सोचलाई निषेध गर्ने प्रयास गर्नु कसैका लागि पनि सुहाउँदो कार्य हैन । 
 
जीवनमा एकपटक छानिएको, पार्टी, समूह र विचारप्रति मान्छे जीवनभरि सहमत भइरहनसक्छ भन्ने छैन । यसका लागि कम्युनिष्ट कार्यकर्ताहरुले स्वयं कार्ल माक्र्स र पुष्पलालको जीवनी पढे हुन्छ । माक्र्स तन्नरी उमेरमा ‘हिगेलिष्ट’ थिए । पुष्पलाल कांग्रेस थिए । ती दुबैले आफ्ना पूर्ववर्ती विचार र संगठन छोडेर नयाँ विचार संगठन रोजेका थिए । यदि कुनै विचार,, संगठन छोडनु र नयाँ विचार वा संगठनका पक्षमा काम गर्नु अनैतिक हो भने त्यतो अनैतिकताको पहिलो आरोप कम्युनिष्ट कार्यकर्ताहरुले स्वयं कार्ल माक्र्स र पुष्पलाललाई लगाउँनु पर्ने हुन्छ ।
 
वस्तुतः आजको युग, एक्काइशौं शताब्दिको विशेषताः कम्युनिष्ट र गैरकम्युनिष्ट, पुँजीवादी र साम्यवादी, लोकतान्त्रिक र प्रगतिशील भनेर विभक्त हुने युग नै हैन । त्यो त उन्नाइसौै र बीसौं शताब्दिको गुण थियो । त्यसैको ह्यांगओभरमा बाँचिरहेका थियौं हामी । त्यही ह्यांगओभरबाट बाहिर निस्कन थालिएको हो ‘नयाँ शक्ति’ को बहस । यो बहसलाई पनि फेरि लगेर त्यसैमा जोडिदिने हो भने  कृपया यो बहसमा सामेल नहुनु नै । आज मानव सम्यता वैचारिक रुपमा उत्तरमाक्र्सवादी र समाज व्यवस्थाका हिसाबले उत्तरपुँजीवादी युगमा आइपुगेको छ । बीसौं शताब्दिको ध्रुविकरणका मौलिकताहरु कहीनेर पनि बाँकी छैनन। कम्युनिष्टहरु सोभियत मोडेलको समाजवादका पक्षमा छैनन् । हिजो पुँजीवादी भनेर खपीनसक्नु गाली गरिएको बहुदलीय व्यवस्थाभन्दा फरक उनीहरुसंग कुनै मौलिक शासन व्यवस्था वा लोकतन्त्रको मोडेल बाँकी छैन ।
 
पुँजीवादी वा लोकतन्त्रवादी भनिएकाहरुसंग पनि सामाजिक न्याय र गरिबमुखी कार्यक्रममा लगानी गर्नुको कुनै बिकल्प देखिँदैन । श्रम आन्दोलनले आज विश्वव्यापी रुपमा मान्यता पाइसकेको छ । कतिपय देशमा कार्यघण्टा ८ घण्टाभन्दा पनि मुनि घट्न थालेको छ । पुँजीवादी भनिएका बजार अर्थतन्त्र भएका मुलुकमा पनि बोनस, पेन्सन, स्वास्थ्य बिमा, बेरोजगार भक्ता आदि प्रत्याभूत भइरहेकाछन । 
 
यी यथार्थहरु बीच कम्युनिष्ट र गैरकम्युनिष्ट, पुँजीवादी र साम्यवादी, लोकतान्त्रिक र प्रगतिशीलजस्ता शब्दहरुको भेद के हो ? आज एमाले र कांग्रेस वा शान्ति प्रक्रियामा आएपछिको एमाओवादी बीचको व्यावहारिक भेद को हो ? छ केही ? दस्तावेजमा कनीकुथी केही भेद देखाउँन सकिएला, वास्तविकतामा त्यस्तो भेद भएजस्तो लाग्दैन ।
 
के कम्युष्टि पार्टीहरु बुर्जुवा बर्गसंग सहकार्य गरिहेका छैनन् ? एमालेको गोल्छा, मालेको खेतान, एमाओवादीको सुमार्गीसंगको सम्बन्ध के हो ? के यी सम्बन्धहरुले सर्वहारा वर्गको हितलाई प्रत्याभूत गर्न सहयोग गरेका छन ? जब कुनै कम्युनिष्ट पार्टी सत्तामा जान्छ, उसले लगानीकर्ताको सुरक्षा गर्नै पर्छ । अन्यथा पुँजीको विकास, उद्योगधन्दा र अर्थतन्त्रको विकास हुनै सक्दैन । यदि त्यसो हो भने शब्दमा भनिने वर्गसंघर्षको के अर्थ हुन्छ ? श्रम र पुँजीबीच यथोचित सन्तुलन कायम नगरिकन विकास हुन सकेको देश संसारमा कुनै पनि छैनन र हुन पनि सक्दैनन् । कम्युनिष्टहरु सत्ताका पुग्दैमा धनीहरुको धन खोसेर गरिबलाई बाँड्ने हैन । बाँडे पनि पुग्दैन । कम्युनिष्टहरु सत्तामा आए पनि गरिबहरुले आफ्नै श्रमले गरिखानु पर्छ । बरु नेताहरु माथिमाथि पँुजिपतिसंग मिल्लान र मस्ती गर्लान । गरिब जनताको त आफ्नो श्रमबाहेक अरु कोही माइबाप हुने छैन ।  
 
यसको अर्थ पुँजीवाद राम्रो साम्यवाद नराम्रो, साम्यवाद राम्रो, पुँजीवाद नराम्रो भन्न खोजिएको हैन । भन्न खोजिएको के हो भने हामीलाई हाम्रा व्यावहारिक जटिलताहरुले यी दुबै सीमाबाट बाहिर आएर अझ रचनात्मक भएर सोच्न प्रेरित गरिरहेको छ । हामीलाई उत्तरमाक्र्सवादी र उत्तरपुँजीवादी हुन प्रेरित गरिरहेकाछन ।
 
विकास र संमृद्धिको उदारहण लिँदा दक्षिण कोरिया, सिंगापुर र स्वीट्जरलैण्टबाट लिने, सिद्धान्त चाहिँ उत्तरकोरिया र क्युवाको किन रट्ने? बहुदलीय प्रणालीलाई अझ बलियो र जनमुखी बनाउँने इच्छा राख्ने,  मार्गदर्शक सिद्धान्त चाहिँ लेनिनवाद वा माओवाद किन भन्ने ? के यी सिद्धान्तले बहुदलीय व्यवस्थामा आधारित लोकतान्त्रिक पद्धति र प्रक्रियालाई स्वीकार गर्थे र ? ती सिद्धान्त त सोभियत प्रणाली र कम्युन प्रणालीमा आधारित राजनीतिक व्यवस्था थिए । बहुदलीय लोकतन्त्रको विरोध र निषेध गरेर जन्मिएका सिद्धान्त थिए यी ।  
 
यो कुनै आरोप हैन, सोभियत संघको कुरा गर्दा इतिहास पढने कष्ट गर्नु पर्ला, चीन जिवित साक्षी छँदैछ । के चीनमा विगत ६५ वर्षमा आमनिर्वाचन भएको वा फरक पार्टीहरु बीच शान्तिपूर्ण सत्तापरिवर्तन भएको समाचार हामीले सुन्न, पढ्न  पाएका छौं ? यदि छैनौं भने त्यहाँ जनताको सार्वभौमसत्ताको वैधानिक सम्मान कसरी भयो वा हुन्छ भन्ने प्रश्नको उत्तर दिन नसकेपछि माओवाद भन्ने शब्द हज्जारचोटी दोहर्याए पनि के हुन्छ र ? के चिनियाँ जनतालाई चाहिँ वैचारिक तथा राजनीतिक स्वतन्त्रता चाहिँदैन ? लोकतन्त्र एक विश्वव्यापी भावना हो । चिनियाँ माओवाद चाहिँ तानाशाही, नेपाली माओवाद चाहिँ लोकतान्त्रिक यस्तो हुनै सक्दैन । 
 
व्यवहार र एजेण्डा एक खालको हुनु, रट्ने सिद्धान्त चाहिँ अर्कै खालको हुनु यो पाखण्ड अबको युगमा कसैलाई पनि सुहाउँदैन । अबको युगमा जे भन्ने हो त्यही गर्ने हो, जे गर्न सक्ने हो त्यही भन्ने हो । इतिहासको गहिरो ज्ञान नभएको युगमा, उमेरमा जानेर, नजानेर कुनै स्कुलिङ ग्रहण गर्र्यौ भने के हामी त्यही स्कुलिङसंग सति जान बाध्य छौै र ? यदि लेनिनवाद, माओवादजस्ता दर्शन र मार्गदर्शक सिद्धान्त बोकेरै डा. भट्टराई ‘नयाँ शक्ति’ को बहसमा आएका हुन भने कृपया नआएकै राम्रो ।
 
अब नेपालको व्यावहारिक धरातल र यी सिद्धान्तहरु बीच कुनै तारतम्य बाँकी छैन । यी सिद्धान्तहरु संगै बोकेर उनले नेपालमा कुनै ‘नयाँ शक्ति’ बनाउँन नसक्ने मात्र, हैन, त्यसको अर्थ र उपदेयता नै रहँदैन । नेपालमा लेनिनवादी, माओवादी पार्टीहरुको अभाव भएर ‘नयाँ शक्ति’ को बहस प्रारम्भ भएकै हैन । ‘नयाँ शक्ति’ को बहस उत्तरआधुनिक युगको चिन्ता र चासोबाट प्रारम्भ भएको हो ।
 
जहाँसम्म माक्र्सवादको कुरा हो, त्यो लेनिनवाद वा माओवाद भन्दा अलिक फरक विषय हो । संसारभरिका कम्युनिष्टहरुले माक्र्ससंग लेनिन, स्टालिन, माओलाई यसरी जोडिदिए मानौं उनीहरु साख्यै दाजुभाई वा कुनै धार्मिक समुदायको उत्तराधिकारजस्तै हुन । यथार्थ त्यस्तो थिएन । माक्र्सवाद उन्नाइसौं शताब्दिको सर्वाधिक लोकप्रिय ‘ग्रान्ड न्यारेटिभ’ थियो, सबै चलाख राजनीतिज्ञहरु यसको ब्यानर आफ्नो राजनीतिक क्यारियरका लागि उपयोग गर्न चाहन्थे । तर ती काम चाहिँ आआफ्नै तरिकाले गर्थे ।
 
नेपालमै हेर्नुस न, यहाँ करिब १ दर्जन कम्युनिष्ट समूह होलान, सबै आफूलाई माक्र्सवादी भन्छन, तर उनीहरुका माक्र्सवादका व्याख्या चाहिँ आफू अनुकुल छन । त्यस्तै भएको थियो संसारभरि । माक्र्सलाई, लेनिन, स्टालिन, माओ, किम इल सुंंग, खु्रश्चेभ, गोर्भाचोभ, जुलियस नेरेरे, मंगेत्स्कुजस्ता राजनीतिज्ञ र शासकहरुसंग जोडनु स्वयं माक्र्समाथिको अन्याय हो ।
 
माक्र्सवादलाई माक्र्सवाद नै रहन दिनु पर्छ । इतिहासको एक कालखण्डमा जन्मिएका एक चिन्तक, एक दार्शनिक, एक विश्लेषक तथा अर्थशास्त्री, व्यक्तिगत रुपमा एक महानतम् प्रतिभा, उनका कयौं विचार आजको युगसंग मिल्न सक्छन, कयौं नमिल्न सक्छन । त्यसलाई अनेक हिसाबले तोडमरोड गर्ने, जथाभावी व्याख्या गर्ने र  नाम चाहिँ माक्र्सकै भराइदिने, यसो गर्ने अधिकार कसैलाई छैन । माक्र्सले आफ्ना विचारको प्याटेन्ट राइट कसैलाई हस्ताक्षर गरेर दिएका छैनन् । अरु कसैको विचार अरु कसैको विचार हो, माक्र्सको हैन ।  लेनिनको विचार लेनिनकै हो, माओको विचार माओ कै हो ।  मदन भण्डारीको विचार मदन भण्डारी कै हो ।  प्रचण्डको विचार प्रचण्डकै हो ।  त्यसलाई जबरजस्तसंग माक्र्ससंग जोड्नु आवश्यक छैन । त्यो आफूमा आत्मविश्वास नभएर माक्र्ससंग जोडेर विकाउ बनाउँने प्रयत्न मात्र हो ।
 
माक्र्स बुद्ध,प्लेटो, अरस्तुजस्तै एक दार्शनिक हुन । आडम स्मिथ, रेकार्डो, मिलजस्तै एक अर्थशास्त्री हुन । उनको युग प्रारम्भीक औधोगिक पुँजीवादको युग थियो । उनी टाइपराइटर र हवाईजहाज पनि आविष्कार नभएका युगका मानिस हुन । उनका मुख्य वैज्ञानिक सन्दर्भहरु न्यूटन र डार्बिन थिए । उनको युगमा सर्वहाराहरु बहुसंख्यामा थिए । त्यस अघि वा त्यसपछि कहिल्यै सर्वहारा वर्ग बहुमतमा पुगेन ।
 
कमरेडहरुलाई आश्चर्य लाग्ला, सन् १९७० यता संसारमा सर्वहारा वर्गको संख्या निरन्तर घटिरहेको छ । मध्यमवर्ग निरन्तर बढिरहेको छ । विज्ञानमै पनि आइस्टाइन र स्टेफेन हकिंन्सजस्ता महान हस्तीहरु माक्र्सपछिका हुन । दर्शनमा माक्र्सपछि सात्र्र, फुको, डेरिडा, माक्र्यूज, डिबे, कृष्णामूर्ति, ओशोजस्ता कयौं दार्शनिकहरु आए । तसर्थ माक्र्सवाद अब महाआख्यान रहेन, एउटा महत्वपूर्ण ‘रिफ्रेन्स’ मात्र भयो भन्न कसैले लाज मान्नु पर्ने युग छैन । यसो गर्दा माक्र्सको कुनै अपमान पनि हुँदैन । किनकि यही आजको सत्य हो । माक्र्सवादप्रतिको हाम्रो अतिआग्रह त मोह मात्र हो, सत्य हैन ।
 
मेरो विचारका माक्र्सका जतिसुकै किताब र लेख हुन, उनका विचारमा मुख्य पाँच सिद्धान्त छन । जसले यी ५ सिद्धान्तको औचित्य वा अनौचित्य बुझ्छ, त्यही हो माक्र्सवादको अध्ययन, उसले पुँजीका सबै भोलम पढेकै हुनपर्छ भन्ने छैन । पहिलो–द्वन्द्वात्मक भौतिकवाद, दोस्रो–ऐतिहासिक भौतिकवाद (सर्वहारा अधिनायकत्व),  तेस्रो–अतिरिक्त मूल्य सिद्धान्त, चौथों–श्रमपराइकरण सिद्धान्त(अलगावको सिद्धान्त) र पाँचौं–बल प्रयोगको सिद्धान्त ।
 
माक्र्सका यी सिद्धान्तहरु पुरै असान्दर्भिक पनि छैनन् तर माक्र्स कै मौलिक व्याख्यामा आधारित हुने हो भने यी कुनै पनि सिद्धान्त अबको युगका काम लाग्दैनन् । पढ्न, अध्ययन गर्न, बौद्धिक विमर्श गर्न, थेसिस लेख्न, पिएचडी गर्न काम लाग्ला, तर राज्य र नागरिकको सम्बन्ध स्थापित गर्न, अर्थतन्त्रसंचालन गर्न, विकास र संमृद्धि हासिल गर्नका लागि काम लाग्दैनन् । ध्वंश गर्न काम लाग्लान, रचना गर्न काम लाग्दैनन् । त्यही भएर आज विकासका मोडेल लि क्वान र महाथिर मोहम्मद हुँदै गएकाछन । तसर्थ अबको युगमा माक्र्सलाई ‘रिफ्रेन्स’ लिएर नयाँ सिद्धान्त बनाउँने हो । माक्र्सको युगमा माक्र्सले गरे, हाम्रो युगमा हामीले गर्ने हो, आफू गर्न नसक्ने, माक्र्सलाई घोटिरहने हामीलाई के अधिकार छ ?
 
तसर्थ ‘नयाँ शक्ति’ ले कम्युनिष्ट पार्टीहरुको जस्तो माक्र्सवादलाई पनि घोषित मार्गदर्शक सिद्धान्त बनाइरहन आवश्यक छैन । त्यस्तो काम एकप्रकारको विरालो बाँध्ने परम्पराजस्तो मात्र हुनेछ । तर माक्र्सबाट सिक्न कुनै अडचन मान्न पर्दैन । माक्र्सबाट मात्र हैन, सिक्न त संसारका सकेसम्म सबै राम्रा कुरा सिक्ने प्रयास गर्नुपर्छ ।  विशेषतः उनको द्वन्द्वात्मक भौतिकवाद भन्ने सिद्धान्तको राम्रो विकास गर्न सक्ने हो भने बाँकी सबै उनका सिद्धान्तहरु छोडिदिए हुन्छ । त्यसवपत जसजसले जेजे बात लगाउँछन लगाउँदै गरुन, कुनै दिन तिनै बात लगाउँनेहरुलाई नै आत्मग्लानी हुनेछ ।
 
माक्र्स पनि मान्छे नै थिए । मान्छेमा हुने यावत सीमा उनमा पनि थिए ।  बुद्धका चेलाले बुद्धिज्म, क्राइष्टका चेलाले क्रिष्टियानिटी, महाबिरका चेलाले जैनिज्मलाई अतिरन्जित गरेझैं एकखाले मान्छेले माक्र्सवादलाई अतिरन्जित गरेका हुन । माक्र्सवाद भने वापत पुन्य हुने र स्वर्ग पुगिने, माक्र्सवाद नभने वापत पाप लाग्ने र नर्क जाइने हैन ।
 
माक्र्सवाद मान्नु नमान्नु भन्दा ठूलो कुरा हाम्रा लागि नेपाली जनताको सुःख  र संमृद्धि हो । कसो गर्दा हामी सुशासन, विकास र संमृद्धि हासिल गर्न सक्छौं, अझ बढी लोकतन्त्र हासिल गर्न सक्छौं, बीसौं शताब्दिका नोकरशाही समाजवादको बद्ला बहुमुखी मानवीय विकासमा आधारित समाजवाद निर्माण गर्न सक्छौं,  नयाँ शक्तिले त्यतातिर सोच्न पर्छ । अन्यथा नयाँ शक्तिको बहस कम्युनिष्ट पूर्वाग्रहको शिकार हुने निश्चित छ ।