Sunday, June 25, 2017

म्याक्रोनको विजयको सन्देश

म्याक्रोनको विजयको सन्देश

भरखरै ( मे ७), सम्पन्न फ्रान्सेली राष्ट्रपतिको निर्वाचनमा विल्कुलै नयाँ पार्टी ‘इन मार्के’ का ३९ बर्षीय उम्मेद्वार एम्मानुइल म्याक्रोन विजय भएकाछन । यो विजयसंगै  फ्रान्सको राजनीतिक इतिहासमा २ वटा नयाँ रेकर्ड कायम भएकोछ । म्याक्रोन सबैभन्दा कम उमेरको निर्वाचित राष्ट्रपति बन्न पुगेकोछन।  अर्कोतिर ‘इन मार्के’ पार्टी गठनको सबैभन्दा छोटो अबधिमा नै राष्ट्रपति जिताउँन सक्ने राजनीतिक दल रुपमा देखापरेको छ।  यो पार्टी २०१६ को अप्रिल ६ मा गठन भएको थियो । पार्टी सदस्यहरु  अहिलेसम्म ३ लाख पनि नपुगेको बताइन्छ । तर ‘इन मार्के’  उम्मेद्वार म्याक्रोनले पहिलो चरण ( अप्रिल २३ ) को निर्वाचनमा करिब ८७ लाख अर्थात २४ प्रतिशत मत पाएका थिए भने दोस्रो चरणमा करिब २ करोड ७ लाख अर्थात्  ६६ प्रतिशत मत प्राप्त गरे ।  यी परिणामहरु फ्रान्स र युरोपका लागि मात्र नभएर विश्वराजनीतिकै लागि आश्चर्यजनक परिणम सावित भएको छ । प्रत्यक्ष निर्वाचित शासकीय पद्धति भएको देशमा नेतृत्व संकटको अवस्थामा नयाँ दल र व्यक्तित्वको सहज उदय हुन सक्ने ययार्थको पनि पुनर्पुष्टि भएको छ ।

फ्रान्सको यो राष्ट्रपतीय निर्वाचनका आफ्नै प्रकारका आन्तरिक मुद्धाहरु थिए । मूलतः दुई पुराना प्रतिद्वन्द्वीहरु वर्तमान समाजवादी तथा बामपन्थी राष्ट्रपति फ्राँस्वा होल्याण्ड र त्यस अघिका दक्षिणपन्थी राष्ट्रपति निकोलस सार्कोजीप्रति जनमानसमा देखापरेको विकर्षण एउटा महत्वपूर्ण ‘फ्याक्टर’ का रुपमा थियो । मानिस यी दुबै ‘ठूला पुराना’ दलबाट बाक्कदिक्क थिए ।  विश्वसन्दर्भबाट भने यो निर्वाचनलाई फरक उत्सुकताका साथ हेरिएको थियो । विशेषतः भारतमा दक्षिणपन्थी हिन्दू दल विजेपीको उदय र त्यसका नेता नरेन्द्र मोदीको बढ्दो लोकप्रियता, अमेरिकामा रिपब्लिकन दक्षिणपन्थी नेता डोनाल्ड ट्रम्पको विजय, वेलयाती जनमत संग्रहमा ब्रजिक्टको विजयले विश्वराजनीति ‘पपुलिज्म’ वा ‘डेमागग’ हरुको युगमा आइपुगेको त हैन भन्ने संन्त्रास विश्वजनमतमा फैलिएको थियो । भूमण्डलीकरण विल्कुलै उल्टो दिशामा अर्थात् ‘डिग्लोबलाइजेशन’ तिर विमुख हुन थालेको चिन्ता विश्वको अग्रगामी र प्रगतिशील जमनतमा देखा परेको थियो ।
फ्रान्सेली निर्वाचनमा पनि त्यही विश्वव्यापी हावाको प्रभाव झनै विषात्त भएर देखापर्ने अनुमान गरिए । न भन्दै मारिन लि पेन एकाएक चर्चामा आइन । मारिन लि पेनको ‘नेश्नालिष्ट पार्टी’ नेपालको राप्रपाजस्तै फ्रान्सेली राजनीतिको चरम दक्षिणपन्थी दल हो । यो दल फ्रान्सेली राजनीतिको मूलधार र शक्तिशाली दल मानिदैनथ्यो । तर वेलायतमा ब्रेक्जिट र अमेरिकामा ट्रम्पको विजयपछि मेरिन लि पेनको निर्वाचन अभियानले झनै जोर प्रक्रियो । उनले वेलयातझैं फ्रान्सलाई पनि युरोपियन युनियनबाट बाहिर निकाल्ने, त्यसपछि इयुको कुनै सार्थक अस्तित्व कायम हुन नसक्ने घोषणा गरिन । लि पेनले जुनस्तरको निर्वाचन अभियान संचालन गरिन, त्यो उनको पार्टीको संगठनात्मक शक्तिमा आधारित थिएन । उनको पार्टीले फ्रान्सेली निर्वाचनहरुमा कहिल्यै उल्लेखनीय नतिजा प्राप्त गरेको थिएन ।

यसो हुनुका तत्कालिक दुई वटा कारणहरु देखापरे ।  पहिलो कारण—मध्यएशियाको राजनीतिक संकट विशेषतः लम्बिदो सिरियाली युद्ध र आइएसआइएसको उदयको कारण मुस्लिम बहुल देशहरुबाट युरोपमाथि परिरहेको शरणार्थी चाप  थियो । अर्कोकारण भने—अतिवादी इस्लामिक संगठनहरुबाट पेरिस, बेल्यिजम लगायत युरोपका विभिन्न देश र शहरमा गराएका घातक आक्रमण थिए । यी दुबै कारणले फ्रान्सेलीहरुले आफूलाई असुरक्षित  महशुश गर्न थाले । लि पेनले शरणार्थीहरुलाई फ्रान्स र युरोप प्रवेशमा रोक लगाउँने, अतिवादी इस्लामिक संगठनहरुप्रति निर्मम सैन्य कार्वाही गर्ने, फ्रान्सको परम्परागत मौलिक चरित्रको रक्षा गर्नेजस्ता मुख्य मुद्धाहरु जोडदाररुपमा उठाइन । तसर्थ फ्रान्सेली मतदाताहरुको ध्यान आफूतिर तान्न सफल भइन । 
राष्ट्रपति पदमा निर्वाचित हुन नसकेपनि मारिन लि पेनले उल्लेखनीय राजनीतिक उपलब्धी भने हासिल गरिन । उनी पहिलो चरणमा २१ प्रतिशत मत ल्याउँदै दोस्रो चरणका ३४ प्रतिशत प्राप्त गरी म्याक्रोनको प्रमुख प्रतिस्पर्धी बनिन् । यी घटनाले फ्राान्सेली राजनीतिमा सत्तारुढ समाजवादी पार्टीलगायत सबै मूलधार र ठूला पार्टीहरुलाई मुख्य प्रतिस्पर्धाको वृत्तबाट बाहिर  धकेलिदिएको छ । गठन भएको एक वर्ष मात्र पुगेको पार्टी ‘इन मार्के’ राष्ट्रपतिमा निर्वाचित त भए नै एउटा सानो दल ‘नेशनालिष्ट पार्टी’  कि मारिन लि पेन मुख्य प्रतिस्पर्धी बनिन् ।  निर्वाचन परिणाम पछि हार स्वीकार गर्दै मारिन लि पेनले माक्रोनलाई बधाई मात्र दिइनन्,  साथसाथै ‘ठूला, पुराना दलहरुलाई जनताले अस्वीकार गरेको’ विश्लेषण समेत व्यक्त गरिन । यो निर्वाचनको दुखद पक्ष के छ भने हिलारी क्लिन्टनको पराजयसंगै महिला राष्ट्रपति निर्वाचित गर्ने अवसर अमेरिकाले गुमाएझैं मारिन लि पेनको पराजयसंगै फ्रान्सले पनि त्यो अवसर गुमाएको छ । अझ रमाइलो पक्ष के छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लि पेनको विजयको इच्छा राख्थे, उनको इच्छा पूरा भएन । उनले अनिच्छाएका युवा समकक्षी म्याक्रोनसंग मिलेर काम गर्नु पर्ने छ ।
यी सबै परिस्थितिमा फ्रान्सको राष्ट्रपतीय निर्वाचनको नतिजा ‘दक्षिणपन्थको विश्वव्यापी हावा’ लाई रोक्ने एउटा गतिलो पर्खाल बन्न पुगेको छ । वस्तुतः फ्रान्स स्वतन्त्रता, लोकतन्त्र, भातृत्वजस्ता मूल्यहरुद्धारा अनुप्रेरित क्रान्तिकारी जनमत भएको देश मानिने गरेको छ । यिनै अनुप्रेरणाहरुले हुनसक्छ, उसले आफूलाई ‘ह्वीम’ बाट जोगाएको छ ।  विश्वको अग्रगामी जनमतका लागि यो एउटा ठूलो राहतको विषय बनेको छ । नेपालजस्तो देशको लागि पनि यस निर्वाचनले एउटा गतिलो शिक्षा दिएको छ । त्यो के भने, कांग्रेस–कम्युनिष्टजस्ता ठूला पुराना दलहरुको असफलताबाट विरक्तिएर राप्रपाजस्ता दक्षिणपन्थी दलहरुलाई विकल्प ठान्न आवश्यक छैन, नयाँ दलहरुमार्फत् पनि ठूला र  मूलधार भनिएका दलहरुको विकल्प दिन सकिन्छ । गतिशील लोकतन्त्रमा विश्वास गर्नेहरुले कुनै दलीय चिन्तनलाई कर्म र छनौटको नैतिक सीमा बनाउँन आवश्यक रहेनछ ।
फ्रान्समा म्याक्रोनको विजय राजनीतिक दर्शनका हिसाबले पनि एउटा नयाँ प्रयोग र अभ्यास हो । फ्रान्सेली भाषाको ‘इन मार्के’ शब्दको अर्थ हुन्छ–अगाडि बढ्ने पार्टी (फरवार्ड) । राजनीतिमा ‘फरवार्ड’ शब्द प्रयोग गर्नुको गहिरो दार्शनिक अर्थ छ, त्यो हो न बामन्थी न दक्षिणपन्थी ( नाइदर लेफ्ट, नोर राइट) । यो पार्टीले आफ्नो मुख्य थिम ‘राजनीतिक जीवनको नविकरणका लागि संघ’ बनाएको छ । वस्तुतः यस्तो दर्शनलाई अग्रपन्थ ( फ्रन्टिज्म ) भनिन्छ । सामान्यतः यस्तो दर्शन बामपन्थी, कम्युनिष्ट वा परम्परागत समाजवादीहरुका लागि सजिलै नपच्ने, नबुझिने घुमाउरो बाटोबाट ‘पुँजीवादी पतन’ गर्ने निहुँ सरह हो भने परम्परात उदारवादी, नवउदारवादी वा लोकतन्त्रवादीहरुका लागि नेतृत्व संकटको अवस्थमा ‘तर मार्ने’ दार्शनिक बहनाबाजी मात्र हो । राजनीति कि बामपन्थी हुन्छ कि दक्षिणपन्थी हुन्छ भन्नेहरुले कालो र सेतो  दुई रंगहरुको अस्तित्व मात्र बुझेका हुन्छन । तर संसारमा यी दुई भन्दा फरक पनि कयौं रंगहरुको अस्तित्व हुन्छ । वस्तुतः राजनीति न सधै दाइने ढल्केर, न सधै देब्रे ढल्केर हिड्न सक्छ, बरु त्यो दुई  विपरित प्रवर्गहरुको गतिशील सन्तुलनमा अन्तर्निहत हुन्छ भन्ने नयाँ दार्शनिक सोचलाई फ्रान्सेली राजनीतिले पनि अनुमोदन गरेकोछ ।
वास्तवमा ‘बामपन्थी’ (लेफ्ट) र डेमोक्र्याट्स ( राइट) भन्ने  वैचारिक विभाजन एउटा विशिष्ट कालखण्डको प्रवर्गीकरण मात्र थियो । यस्तो राजनीतिले पुँजी र श्रमलाई दुई विपरित वा निष्ोधकारी प्रवर्गका रुपमा स्थापित गर्दथ्यो । तर बीसौं शताब्दिसम्मको राजनीतिक अभ्यासले त्यसलाई पुष्टि गर्न सकेन । श्रमवादी भनिएका केन्द्रिकृत समाजवादी राज्यहरु एकपछि अर्को गर्दै पतन हुँदै गए । पुँजीवादी भनिएका लोकतान्त्रिक राज्यहरुमा पनि अनेक प्रकारका आर्थिक मन्दी र सामाजिक संकटहरु कायम नै रहे । अमेरिका न कम्युनिष्टहरुले भने जस्तो ‘पुँजीवादी राज्य’ कायम रहन सक्यो न सोभियत संघ र चीन नै ‘पुँजीलाई निषेध’ गरिएको श्रमवादी राज्यका रुपमा कायम रहन सके । फलतः दार्शनिक पुर्वाग्रह एकातिर रह्यो,  व्यवहारिक बाटो अर्कोतिर गयो । एक्काइशौं शताब्दिसम्म आईपुग्दा अब बामपन्थी वा दक्षिणपन्थी राजनीतिले समाजको नेतृत्व गर्न नसक्ने यथार्थ व्यवहारिक रुपमा नै सिद्ध भयो । 

तर ती राजनीतिक शक्तिहरु जो, यस्तो वर्गिकरणको युगमा जन्मिएका थिए, त्यही संकथनमा आधारित भएर उनीहरुले शक्ति आर्जन गरे, त्यही विश्लेषण पद्धति कायम राखेर मात्र आफ्नो शक्ति संचरनाको रक्षा हुन सक्छ भन्ने मनोवैज्ञानिक निष्कर्षमा रहे, उनीहरुले बद्लिएको युगको यथार्थलाई आत्मसात गर्न अस्वीकार गर्नु स्वभाविक थियो । म्याक्रोन आफै पनि बामपन्थी तथा समाजवादी राष्ट्रपति होल्याण्डका आर्थिक सल्लाहकार थिए । उनी अर्थमन्त्री पनि भए । तर सोसलिष्ट पार्टीको चिन्तनपद्धतिभित्र उनले फ्रान्सको भविष्य देखेनन् । अर्थमन्त्रीको पद र समाजवादी पार्टी परित्याग गरी उनले ‘वैकल्पिक राजनीति’ को प्रारम्भ गरे । ‘इन मार्के’ दलको गठनमा उनको महत्वपूर्ण भूमिका थियो । सोसलिष्ट पार्टीका धेरै मान्छेहरु उनीसंग आएनन् । उनले नयाँ तरिकाबाट पार्टी निर्माण र राष्ट्रपति निर्वाचनको प्रचार अभियान शुरुवात् गरे, जसले एक वर्ष नपुग्दै आश्चर्यजनक परिणाम दियो ।

नेपालमा पनि अहिले बैकल्पिक राजनीतिको बहस जोडतोडले चलेको छ । एउटा भनाई छ— जब कुनै चिजको समय आउँछ, त्यसलाई कसैले रोक्न सक्दैन । विश्व राजनीति यतिखेर शीतयुद्धकालिन मूलधार कि बामपन्थी कि डेमोक्रयाट् भन्ने पूर्वाग्रहबाट विस्तारै बाहिर निस्कदैछ । विश्व की चरम दक्षिणपन्थ कि नयाँ विकल्पतिर उन्मुख हुँदैछ । आज विश्वभरि नै फ्रन्टिज्मका आधारित बैकल्पिक राजनीतिका नयाँ आयामहरु अंकुरित भइरहेकाछन । गतिशील लोकतन्त्रमा विश्वास गर्नेहरुका लागि निश्चय नै यो सुखद समाचार हो । 
२०७४ बैशाख २७ गते ।